वामगठबन्धन कि ‘बाहुन गठबन्धन’ ?

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २७ गते आइतवार काठमाडौं

 

चुनाव अगाडिसम्म संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले–माओवादी बामगठबन्धनको नाम ‘बाहुन गठबन्धन’ भनेका थिए ।

 

राज्यका विभिन्न निकायका प्रमुखमा नयाँ अनुहार आएपछि एमाले र माओवादीभित्रकै जनजाती तथा मधेशी नेताले पनि उपेन्द्रकै शैलीमा ‘बाहुन गठबन्धन’ को चर्चा शुरु गरेका छन् ।

 

सोसल मिडियामा पनि यो विषय बहसमा छ । एमाले र माओवादी गठबन्धनबाट प्रधानमन्त्री केपी ओली बने । राष्ट्रपति विद्यादेवी भण्डारी हुने भएकी छिन् । २९ गते राष्ट्रपतिको चुनाव हुँदैछ । सभामुखमा माओवादी नेता कृष्णबहादुर महरा शनिवार निर्वाचित भएका छन् ।

 

एमालेमा एउटा समूहले राष्ट्रियसभा अध्यक्षका लागि गणेशप्रसाद तिमिल्सेनाको नाम अगाडि सारेपछि एमालेभित्र र सोसल मिडियामा ‘बाहुन गठबन्धन’ को चर्चा शुरु भएको हो । एमाले–माओवादी शक्ति बाँडफाँडमा राष्ट्रियसभा अध्यक्ष एमालेको कोटामा परेको छ ।

 

‘संविधानले राज्यको हरेक निकायमा समावेशी समानुपातिकको कल्पना गरको छ । तर, वाम गठबन्धनले हालसम्म राज्यको प्रमुख निकायमा समावेशी अनुहार पठाएको छैन ।’ एमालेका एक नेताले भने, ‘राज्यको मुख्य निकाय राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा एउटै अनुहार परेको छ ।’

 

सभामुखमा ओनसरी घर्ती / सुबास नेम्बाङको पनि रुची थियो ।

 

राष्ट्रियसभामा को ?

 

राष्ट्रियसभा अध्यक्षका लागि एमालेका पर्शुमेघी गुरुङ र गणेशप्रसाद तिमिल्सेना दाबेदार देखिएका छन् । राष्ट्रियसभा अध्यक्ष एमालेको भागमा परेपछि गुरुङ र तिमिल्सेना दाबेदार देखिएका हुन् ।

 

राष्ट्रियसभा अध्यक्षको पनि प्रतिनिधिसभाका सभामुखको जस्तै भूमिका हुने संवैधानिक व्यवस्था छ ।

 

को हुन् गुरुङ ?

एमालेबाट दाबेदार मध्ये गुरुङ सबैभन्दा सिनियर नेता हुन् । एमाले पोलिटव्युरो सदस्य गुरुङ ०४८ मा संखुवासभाबाट १ बाट र ०५६ मा संखुवासभा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

२०५६पछि एमाले संसदीय दलको सचेतक भएर पनि काम गरे। गुरुङ संविधानसभा निर्वाचनमा उम्मेदवार बनेनन् । उनी समानुपातिक तर्फ पनि अटाएनन् । उनले २०६४ देखी २०६९ सम्म एमाले कार्यालय सचिवको जिम्मेवारी सम्हाले ।

 

एमालेले संघीय मामिला विभाग प्रमुख स्थापना गरे यता उनी यो विभागका प्रमुख हुन् । नेपालको संघीयता र स्थानीय तहको बारेमा जानकारी राख्ने गुरुङ हालका सात प्रदेशको खाकाका प्रस्तावक मध्येका एक मानिन्छन् ।

 

पहिलो संबिधानसभा विघटनपछि तत्कालिन उपाध्यक्ष अशोक राईसहित आदिवासी जनजाति नेताले एमाले पहिचान बिरोध पाटीको आरोप लगाएर बाहिरिए । गुरुङको बिभागले देशभरी प्रशिक्षण चलाएका थिए ।

 

हाल कार्यान्वयनमा रहको स्थानीय तहको परिकल्पनाकार र प्रस्तावक समेत हुन् उनी ।

 

 तिमिल्सेना ?

 

एमाले नेता तिमिल्सेना प्रदेश ४ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन् । पार्टीमा लामो समय काम गरेकाले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने तिमिल्सेनाको दाबी छ । उनी पहिलोपटक राष्ट्रिय सभामा सांसद भएका हुन् । तिमिल्सेना संसदीय अभ्यासमा नयाँ हुन् । तिमिल्सेना एमालेमा ओली समूहका नेता हुन् ।

 

राष्ट्रिय सभामा कुल ५९ जनामध्ये ५६ जनाले मात्र भोट हाल्न पाउँछन् । एमालेबाट २७, कांग्रेस १३, माओवादी १२, फोरम दुई र राजपा दुई सदस्य छन् । त्यस्तै, राष्ट्रपतिबाट तीनजना मनोनीत भएका छन् ।

 

उपाध्यक्ष टुंगो लागेन

 

राष्ट्रिय सभाको उपाध्यक्ष माओवादी भागमा परेको हो । तर, संघीय समाजवादी फोरमसँग वार्ता जारी भएकाले उपाध्यक्षको निर्णय गरिएको छैन ।

 

फोरमले तीन मन्त्रीसहित सभामुख वा राष्ट्रिय सभाको अध्यक्षमध्ये एक पाउनुपर्ने दाबी गरेको छ ।

 

तर, एमाले–माओवादीले दुई मन्त्रीसहित एक राज्यमन्त्री दिने गरी छलफल अगाडि बढाएका छन् ।
फोरमसँगको वार्ता टुंगिएपछि मात्र माओवादीले उपाध्यक्षको टुंगो लगाउने भएको छ ।

 

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन ४ चैतमा हुँदै छ ।रातोपाटीबाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top