विश्वकप छनोटमा नेपालको दोस्रो हार

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २४ गते बिहीवार काठमाडौं

 

विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।

 

नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४१. ३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाए । उसको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले ।

 

नेपाली बलरहरुले एकपछि अर्को विकेट लिएपनि कोएट्जर लगातार क्रिजमा टिकिरहे । १३६ बलको सामना गरेका उनले सात चौका र ३ छक्का हानेका थिए ।

 

नेपालका बसन्त रेग्मी र सोमपाल कामीले २-२ विकेट लिए भने ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

 

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो ।

 

नेपालको सुरुवात निकै खराब रहृयो । मात्र १४ रन जोड्दा ४ विकेट गुमाएको नेपालका कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै नेपाललाई सम्हाल्ने प्रयास गरे ।

 

आरिफ शेखसँग २५, सोमपाल कामीसँग ४२ र रोहितकुमार पौडेलसँग १९ रनको साझेदारी गरेका पारस सातौं विकेटका रुपमा आउट भए । उनले ६३ रन बनाए ।

 

बसन्त रेग्मीले २४ रन बनाए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top