श्रमिक महिला दिवस अभियानमा सिमित, समान काममा असमान ज्याला कायमै ।।

सुजता लामा, २०७४ फागुन २४ गते बिहीवार सुजता लामा

 

लेखिका:सुजता लामा

“आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामिण र सहरि महिलाको जिवनस्तर रुपान्तरण”, “महिला समानको आधार : सीपयुक्त हात र स्वरोजगार” अभियानका हरेक वर्ष समान काममा समान ज्याला बनाउने तर्फ यस्ता नाराहरु केन्द्रित हुन्छन् । समान काममा समान ज्याला पाउनुपर्छ, त्यसका लागि हामी पहल गर्छौ भन्ने आशा लाग्दा स्वरहरु पनि ठुला ठुला हल र मन्चहरुबाट अनवरत गुन्जिरहन्छन् । तर दिवस सकिएपछि अर्को मार्च ८ नआउन्जेल बिस्तारै आवाजहरु मधुरो हुन्छ, अनि एवंम् रितले महिलाहरु समान काममा पनि असमान ज्याला लिन बाध्य हुन्छन् ।

 

उही काम, उति नै खटाई, घर बनाउदै आएकी जुरेली दमाई संगै काम गर्ने पुरुषले ८ सय रुपैया पाउदा आफूले जम्मा ६ सय रुपैया पाउने गरेको दुखेसो गर्छिन् । कमलामाई नगरपालिका ४ ढुंग्रेवासमा रहेर ज्यामी काम गर्दै आएकी उनी जुन जुन कार्यक्रम भए पनि आफूहरुका कुरा सुनि दिने र बोलिदिने कोहि नभएको बताउछिन् । कनपा २ भद्रकालीकी हरिमाया गोले पनि घर बनाउने काम गर्छिन् । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म श्रीमान संगै खट्छिन् । तर संगै काम गरेर श्रीमानले ८ सय रुपैया पाउँदा उनले जम्मा ६ सय रुपैया पाउछिन् । उनी पनि पुरुषले जति नै काम गरे पनि महिला भएकै कारण आफूहरुले कम ज्याला पाउने गरेको गुनासो गर्छिन् । उनी भन्छिन्, “पुरुष सरह खटेपछि हामीले पनि उति नै ज्याला पाउनुपर्ने हो, तर के गर्नु हामीलाई दिदैनन्, बराबरी माँगौ भने फेरि काम नै नदेलान् भन्ने डर ।”

 

आर्थिक शशक्तिकरण महिला र पुरुषवीचको समानताको मुख्य आधार हो । तर पुरुष जति नै खट्दा समेत महिलाहरुले कम पारिश्रमिक पाइरहेका छन् । यस्तो अवस्थामा कसरी समानता कायम हुन सक्छ ? यो सवैले सोच्ने वेला आएको छ ।

 

घर बनाउने काम मात्रै हैन खेतालाको ज्यालामा पनि असमान छ । हाम्रो समाजमा खेतालालाई पनि लिङ्गको आधारमा ज्याला दिने चलन छ । रोपार र संगै काम गर्ने बाउसे उति नै समय खटिरहेका हुन्छन् । तर पनि महिला भएकै कारण रोपारले कम ज्याला पाइरहेका छन् । गोलन्जोर गाउँंपालिका वडा नम्बर ३ ग्वालटारकी सन्तोषि थापा भन्छिन्, “आखिर हामी पनि पुरुष जति नै खटेका हुन्छौ, तर किन महिला भएकै कारण हामीले पुरुषले भन्दा कम ज्याला पाउने ? हामी माथि कति अन्याय भएको छ, कसैले बुझ्दैनन् ।”

 

हो वास्तवमै बाउसे गर्न, आलि लगाउन, जोत्न पुरुषलाई जति गाहो हुन्छ, दिउसो भरि निहुरीएर धान रोप्न, गोड्न, काट्न, कोदो रोप्न र टिप्न महिलालाई त्यति नै गाहे हुन्छ । तर पनि पितृसत्तात्मक सोचले यस्तो जरा गाडेको छ कि, महिला र पुरुष बराबरी हुनै सक्दैनन्, पुरुष भनेको ठूलो हो उनीहरुले २÷४ पैसा भए पनि बढि पाउनै पर्छ भन्ने सोच रहेको छ ।

 

त्यसैले महिलाहरु हामी कम छैनौ भन्न आफ्नो अस्तित्व स्थापित गर्न निरन्तर संघर्ष गरिरहनु परेको छ । निश्चय नै संघर्ष जीवनको एउटा पाटो हो । तर यो टिठ लाग्दो संघर्ष कहिले सम्म ? कानुनले समान ठाने पनि अझै सम्म हाम्रो समाजले महिलालाई समान दर्जा दिएको छैन ।

 

 

समानताको प्रमुख आधार भनेको समाजको संरचना हो, जुन संरचना अझै पनि महिलाको निम्ति विभेदकारी नै छ । हरेक वर्ष समान काममा समान ज्याला दिनुपर्छ भनेर अभियान सफल पार्न लागी परेको देखिन्छ । तर तिनै मान्छेहरु पनि महिलालाई समान काममा असमान ज्याला दिनेमा अगाडी छन् । अभियानका वेला सरकारी निकाय तथा गैह्रसरकारी संस्थाले पनि समान काममा समान ज्याला दिनका लागि विभिन्न चेतनामूलक काम गर्न आ–आफ्नो संस्थाबाट पहल गर्ने प्रतिवद्धता जाहेर गरेको पाइन्छ । यो आफैमा राम्रो काम हो । तर दुभाग्र्य प्रतिवद्धता जाहेर गरे अनुरुप परिणाम व्यवहारमा देखिएको छैन । महिला अधिकार र समानताको कुरा कुनै अभियान चलेको बेला मात्र हैन । अन्य कुनै पनि समयमा तिब्रताका साथ उठाउने बेला भएको छ । हुन त संविधान मै समान काममा समान ज्याला उल्लेख छ । तर व्यवहारिक रुपमा लागु भएको छैन ।

 

 

त्यसैले कानुनमा भएर मात्र पनि हुदैन, त्यसलाई व्यवहारमा ल्याउनु आवश्यक छ ।

 

त्यसका लागि अव भने स्थानिय तहका जनप्रतिनिधिहरुले योजना बनाई संविधानमा उल्लेख कानुनलाई स्थानिय तहले पनि कार्यान्वयमा ल्याउनुपर्छ । प्रत्येक वडा वडाले आफ्नो वडामा समान काममा समान ज्याला लागु गर्ने ठोस निति बनाउनु आवश्यक छ । तव मात्र कानुनमा रहेका कुरा व्यवहारमा ल्याउन सकिन्छ । वास्तवमै अव घर बनाउने ज्यामी काम होस्, वा धान रोप्र्ने तथा हलो जोग्ने खेतालाको काम होस्, समान ज्याला निर्धारण गर्न जनप्रतिनिधि प्रतिवद्ध हुनु आवश्यक छ । यसो भएमा समान काममा समान ज्यालामा सिन्धुली उदाहरणीय पनि बनाउन सकिन्छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top