किसान र गोठालाबीच झडप हुँदा २४ जनाको मृत्यु

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २३ गते बुधवार काठमाडौं

 

 

नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको हो।

 

हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्य गभर्नर साम ओर्टोमले पत्रकारहरूलाई बताए। उनले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गरेका छन्। घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उनले बताएका छन्।

 

अर्का एक जना सरकारी अधिकारीले सोमबार र मंगलबार भएका घटनामा परी मृत्यु हुनेमा विद्यालयका छात्रछात्रा पनि रहेको जानकारी दिए। हिंसाका घटनाहरूले अरू सयौँ जनालाई प्रभावित पारेको पनि सरोकारबालाहरूले बताएका छन्। हिंसा अन्त्यका लागि विभिन्न खालका बैठक तथा छलफलहरू भइरहेको अधिकारीहरूले जानकारी दिएको समाचारमा जनाइएको छ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हिंसात्मक घटनाहरू चाँडै नियन्त्रण हुने अपेक्षा गरिएको बताए।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top