अफगानस्तानले हार्दा पनि नेपाललाई राहत

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २३ गते बुधवार काठमाडौं

 

 

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा पनि जिम्बावे विजयी भएको छ । जिम्बावेले अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको हो । रोमाञ्चक खेलमा जिम्बावेसँग २ रनले पराजित भएसँगै अफगानिस्तानले विश्वकप छनोटमा लगातार दोस्रो पराजय भोगेको छ।

 

आइतबार भएको पहिलो खेलमा अफगानिस्तान स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो। घरेलु टोली जिम्बावे मंगलबार दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३ बल बाँकी छदा १ सय ९४ रनमा अलआउट भयो।

 

नेपाल सम्मिलित समूह बीको मंगलबारै भएको खेलमा स्कटल्यान्डले हङकङलाई ४ विकेटले हरायो। योसँगै स्कटल्यान्ड र जिम्बावेले २–२ खेलमा जित हात पारेका छन् । अफगानिस्तान दुवै खेलमा पराजित हुँदा नेपाल र हङकङ १–१ खेलमा पराजित भए। अंकतालिकामा स्कटल्याण्डसँगै समान ४ अंक भए पनि रनरेटका आधारमा जिम्बावे दोस्रो स्थानमा छ।

 

समूह बी मा दुबै खेल हारे पनि रनरेटका आधारमा अफगानिस्तान तेस्रो, एउटा मात्रै खेल खेलेको हङकङ चौथो र नेपाल पुछारमा छ। अंकतालिकाको पुछारमा भएका कारण सुपर सिक्समा स्थान बनाउन नेपालले बिहीबार शीर्ष स्थानमा रहेको स्कटल्याण्डविरुद्ध जित निकाल्नुपर्ने दबाव बढेको छ। यदि स्कटल्याण्डसँग पराजित भएमा र अफगानिस्तानले बाँकी रहेका खेलमा नेपाल र हङकङलार्इ पराजित गरेमा सुपरसिक्समा पुग्ने नेपालको सम्भावना सकिनेछ।

 

५ टोली सहभागी समूहका शीर्ष तीन टोली सुपरसिक्समा पुग्ने आइसीसीको प्रावधान छ । सुपरसिक्समा एकअर्काको टोलीसँग खेल्दै शीर्ष दुर्इ स्थान हासिल गर्ने टोलीले २०१९ को विश्वकपमा स्थान बनाउनेछ।

 

नेपालले पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बावेको सामना गरेको थियो। पहिलो खेलमा नेपाल १ सय १६ रनले पराजित भयो। पहिलो खेलको फराकिलो हारपछि दोस्रो चरण (सुपरसिक्स) मा पुग्न नेपाललाई स्कटल्याण्डविरुद्ध जित्नैपर्ने दबाव छ । सुपरसिक्समा पुग्नका लागि नेपालले बिहीबार हुने स्कटल्याण्ड सहित अफगानिस्तान र हङकङसँग हुने बाँकी तीन खेलमध्ये दुर्इमा जित हात पार्नुपर्नेछ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top