द्वारिकाजीलाई प्रश्न र जवाफ दुबै

अर्जुन पौडेल २०७४ फागुन २० गते आइतवार काठमाडौं

 

 लेखक:अर्जुन पौडेल

 

निकै दिनपछि पत्रिकाका लागि कलम चलाउँदै छु । त्यो पनि द्वारिका काफ्लेजीको कृपाले । यसपटकको होलीमा एउटा जमघटको अवसर जुर्‍यो, विज्ञहरूको माझमा । सबैमा आ–आफ्ना कुरा राख्ने हतार र प्रतिस्पर्धा । आफूले त के बोल्नुपर्ने हो वा होइन भेउ नै पाइन । बुझ्नेहरूले म म भन्नुहोला । त्यस दिनको बैठकमा उहाँले हामीतिर फर्केर एउटा निकै पेचिलो कुरा गर्नुभयो । त्यो हो,‘ सिन्धुली बाहिर पत्रिकामा लेख छपाउनेको प्रतिस्पर्धा नै चल्छ तर यहाँ एउटा लेख लेख्न सक्ने मानिस पनि पाइँदैन । लगभग शून्य नै छ भन्दा पनि हुन्छ । यहाँ उपस्थितमध्ये कोही लेख लेख्न सक्नुहुन्छ भने भन्नुहोस् ।’ यस कुरामा केहीले लेख लेखेर दिने , केहीले प्रयास गर्ने र केहीले आफूले राष्ट्रिय पत्रिकाका लागि लेखिरहने भएकाले नभ्याउने जवाफ  दिए । मलाई पनि केही भन्न त मन लागेथ्यो तर मेरा विचारलाई त्यहाँ सीमित गर्नुभन्दा पत्रिकामा नै लेखेर प्रकाशित गर्न पाए राम्रो भन्ने लागेर यो काँचो प्रयास गरेकोमा अन्यथाप्रति क्षमा चाहन्छु ।

 

लोकतान्त्रिक गणतन्त्रमा स्वच्छ जनमतको निर्माणमा प्रेसमार्फत् छापा तथा आम सञ्चारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसको सफलताका लागि सार्वजनिक आलोचनाको तह पार गर्नुपर्ने हुन्छ । शासक र शासित दुवैलाई उचित मार्गमा चल्न प्रेस तथा सञ्चारले आफ्नो सचेत कार्यद्वारा सूचित गर्ने हुनाले प्रेसलाई प्रमुख सचेतक, समाजको अग्रदूत र राज्यको चौथो अंग मानिन्छ । सञ्चारका विभिन्न माध्यममध्ये आधुनिक युगमा आमसञ्चार माध्यमको महत्वपूर्ण स्थान रहेको छ । विद्युतीय सञ्चार माध्यम र नयाँ आम सञ्चार प्रविधिले विश्व एउटै आँगन बन्न पुगेको छ । यसले आफ्नो अन्तरआत्माले देखेको कुरा व्यक्त गर्ने हुनाले प्रेसलाई राष्ट्रको चेतनाको प्रतीकका रुपमा पनि लिइएको पाइन्छ । अभिव्यक्ति स्वतन्त्रताको हक प्रेसले मात्र होइन, लेखकहरुले पनि प्रयोग गर्न पाउने सर्वसुलभ वातावरण वा सुविधाले लेखकको निर्माण हुने हुँदा प्रेसलाई पनि लाभ नै हुन्छ । सामान्य परिवेश र घटनाले समग्र पक्ष समेट्न सकेको हुँदैन । विशेष घटनाका कारण हामी वरपरको वातावरण विशेष चासोको विषयवस्तु बन्न पुग्दछ र लेखकहरुले पनि त्यसैलाई लेखनको विषयवस्तु बनाएका हुन्छन् । अभिव्यक्तिका दुई कला वाचन र लेखन दुबैमा सबै अभ्यस्त हुदैनन्  । यी दुवैका आ–आफ्नै महत्व र विशेषता छन् । कसैले वाचनलाई त कसैले लेखनलाई आफ्नो विचार विनिमयको सुविधाको साधन बनाएका हुन्छन् । दुबै सूचनामूलक नै भए पनि लेखन कला स्थायी प्रकृतिको हुन्छ र छापामा पनि यसैलाई प्रयोग गरिने हुनाले लिखित सामग्री पछिका लागि अध्ययनीय बनी संग्रह गरिने हुनाले पत्रपत्रिका समाजका सम्पत्ति बनेकाले यसकार्यमा पत्रकारहरुको गम्भीर प्रयत्न स्तुत्यपूर्ण रहेको छ । पत्रकारितातर्फको यहाँको संघर्ष अतुलनीय नै रहेको कुरामा मेरो कुनै विमति छैन तापनि लेखकहरुबाट लेख माग्दा यहाँको आग्रह प्रेरणादायी र प्रोत्साहनमुखी हुनुपर्छ भन्ने अनुरोध मात्र हो ।

 

स्वतन्त्र र स्वच्छ पत्रकारिताका क्षेत्रमा प्रशस्त समस्या र चुनौतीहरु रहेका छन् । यी सबैलाई चिरेर स्वच्छ पत्रकारिता र स्थायीत्वका लागि जनविश्वास चाहिन्छ । जनविश्वासका लागि निरन्तरता, पेशागत इमान्दारिता, पारदर्शिता, राष्ट्र र जनताप्रति समर्पण, दक्षता, नीति, कानुन, मानवता, सामाजिकता, सहिष्णुता आत्मआलोचनाको अभ्यास सबै चाहिन्छ । यसमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष भनेको जनविश्वास हो । यो प्राप्त छ भने पाठक स्वयम् क्रियाशील रहन्छन् । प्रेस सामग्री र ग्राहक खोजीरहनु पर्दैन । यसर्थ पत्रपत्रिका र पत्रकारिता क्षेत्रका लागि जनविश्वास सबैभन्दा ठुलो सम्पत्ति मानिन्छ । अब भन्नुहोस् द्वारिकाजी यहाँनिर पत्रिकासहित तपाई कहाँनिर हुनुहुन्छ ? पत्रपत्रिका भन्दा बाहिर रहेकाले मैले सोझो उत्तर चाहेको हुँ । पत्रपत्रिकाको इतिहास, विकास, सिद्धान्त र प्रयोगको अवस्थावारे म अनभिज्ञ नै छु । यो तपाईहरुको कर्मक्षेत्र हो । यसर्थ यसमा मैले बोल्नु अनुचित नै हुन्छ । तर लेखकीय कर्मसँग म पनि जानी नजानी तानिएकोले यथासम्भव प्रेस, सञ्चार र लेखकबीचको सम्बन्ध स्वच्छ र सुमधुर हुनुपर्छ भन्ने मेरो आग्रह रहेको छ ।

 

सिन्धुलीमा जन्मेर सिन्धुलीका लागि योगदान गर्नेहरुको कदर हुनैपर्छ र त्यस्ता व्यक्तित्वहरुबाट देश र समाजमा पुग्ने योगदानवारे समाजलाई सूचना दिनु पनि पत्रकारिताको धर्म हो । यसमा म पनि सहमत छु । तर सिन्धुली मेरो जन्मघर हुन सकेन । म महोत्तरीमा जन्मेको मधेशी पहाडीया हुँ । तर, मेरा पिताको जन्मथलो भने सिन्धुली नै हो । अहिले म सिन्धुलीमा कार्मिक जीवन बिताइरहेको छु । जन्मको नाता नभए पनि कर्मको नाताले सिन्धुलीको उन्नति र प्रगतिका सन्दर्भमा पक्कै पनि मेरा केही उत्तरदायित्व रहेका छन् । यसैले पनि व्यक्तित्व विकासका अनेकौं अवसर प्राप्त हुँदाहुँदै पनि मोफसल छाडेर सिन्धुली प्रवेश गरेको हुँ । अरु केही गर्न नसके पनि ज्ञानगुणका केही बेर्ना उमार्न सकें भने पनि पितृ ऋण केही कम हुन्छ कि ! भन्ने आशा पालेको थिएँ तर तपाईले स्थानीयताको कुरा उठाएर मलाई दोधारमा पारिदिनुभयो । यस अवस्थामा तपाईले आफ्नो पत्रिकाका लागि कस्तो लेखको अपेक्षा गर्नुभएको हो मैले बुझ्न सकिन । त्यसो त मोफसलमा १००÷५० जति लेख रचना मेरा पनि प्रकाशित छन् । द्वन्द्वकालमा प्रकाशित रचना भएकाले त्यसलाई मौसमी मानिएला ! तर त्यसमा उठाइएका प्रश्नहरु अझै पनि समसामयिक नै छन् । नयाँ लेख रचनाहरु पनि लेख्न नसकिने होइन । यद्यपि तपाईको प्रश्न गराइले कता कता लेखकहरुको अस्तित्वमाथि नै धावा बोलेको लाग्यो । वस्तुपरक अध्ययन अनुसन्धानबाट निकालिएको निष्कर्ष भए शायद त्यो सुखद र स्वागतयोग्य नै हुने थियो । तर त्यहाँ तपाईको हीनताबोध प्रकट भएझैं लाग्यो एकातिर भने अर्कातिर त्यहाँ जम्मा भएकाहरुमा कोही पनि लेख रचना लेख्न असक्षम रहेको मूल्यांकन गरिएझैं लाग्यो । यो बुझाइ गलत पनि हुन सक्ला । तर लेख रचना पत्र पत्रिकाका धर्म, विशेषता, परिवेशगत आवश्यकता, समाज, सचेतता, विषयगत आवश्यकता आदि अध्ययन गरेर लेखिने गरिन्छ । लेखकलाई व्यक्तिले होइन परिवेशले लेख्न बाध्य पार्छ । यो लेख पनि त्यसैको उपज हो । किनकी तपाईसँग मेरो हजारपटक भेट भएको छ । तर यो परिवेश जुटेन । जुटायो त आखिर एउटा छोटो बसाइले । यसलाई यसैगरी सम्झनुहोस् ।

 

देश अहिले नवीन शासन प्रक्रियाबाट अगाडि बढ्ने अभ्यासमा छ । जनआकांक्षा धेरै छन् । समय कम छ । भाषण, सेमिनार र गोष्ठी भन्दा काम गरेर जनविश्वास प्राप्त गर्न सक्यौं भने यो शासन व्यवस्था स्थायी र स्थिर हुन सक्छ । नयाँ परिवेश, विभिन्न सकारात्मक र नकारात्मक चुनौतीको सामना गरी देशलाई समृद्धिको बाटोमा डो¥याउनु जनप्रतिनिधिको मात्र नभएर हाम्रो पनि दायित्व भएकोले यसमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयलाई मैले प्राथमिकता दिएको छु । यसका लागि तपाईं पनि तयार हुनुहुन्छ भने समाज रुपान्तरणमा आइपर्ने जस्तोसुकै त्यागका लागि अघि सर्न सक्नुपर्छ । हुन सक्छ तपाईंका व्यक्तिगत, पारिवारिक दायित्वहरु पनि बाधा बनेर अगाडि आउन सक्छन् । बिसे नगर्चीको पनि आवश्यकता पर्ला । राज्यपक्षबाट पनि शासित हुनुपर्ने अवस्था आउला । यी सबैको सामना गर्ने विश्वास दिन सक्नुहुन्छ भने देश, जनतालाई शिरमा राखी आफूले जानेको विषयमा केन्द्रित रही लेख लेख्न तयार छु र तपाई पनि प्रकाशित गर्न तयार हुनुपर्छ । यस्तो हिम्मत राख्नुस् । तपाईंको पत्रिकाका लागि तपाईंले प्रशस्त सामग्री पाउनुहुन्छ । ती सामग्री देश र जनताका पक्षमा नै लक्ष्यित हुने विश्वास दिलाउन चाहन्छु र रचनात्मक र शिष्ट जवाफको अपेक्षा राख्दछु किनभने अध्ययन भनेको जीवन पर्यन्त चलिरहने कुरा हो । यसैले कसैलाई पनि बिना आधार अपूर्ण मूल्यांकन गर्नु हुँदैन ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top