नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्छः प्रचण्ड

सिन्धुली साैगात संवाददाता २०७४ फागुन ५ गते शनिवार काठमाडौं

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्ने बताएका छन् । नयाँ वामपन्थी सरकारप्रति जनताको अपेक्षा बढी रहेकाले सवै सुधार गर्न नसकेपनि सुधारको शुरुवात शिक्षा क्षेत्रबाटै गरिने उनले स्पष्ट पारे ।

 

एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सके २० प्रतिशत पु¥याउने नसकेपनि पहिले भन्दा शिक्षा बजेटमा देखिने गरी वृद्धि गरिने बताए । ‘पहिले भाषण भए तर २० प्रतिशत शिक्षा वजेट कहिल्यै पुगेन’ प्रचण्डले भने, ‘शिक्षा बजेट जहिल्यै पुगेन मात्रै भनिएको छ अबको बजेटमा त्यसो भन्ने ठाउँ दिने छैनौँ ।’ शिक्षालाई जीवन उपयोगी, उत्पादनमुलक, रोजगारमुलक, व्यवसायिक र प्रविधियुक्त बनाउन नयाँ बनेको सरकारले विशेष योजना ल्याउने समेत उनले जिकिर गरे । अनुसन्धानमा लगानी बढाउने गरी बजेट आउने उनले स्पष्ट पारे । निजी विद्यालयहरुलाई बेलगाम नछाडीने समेत प्रचण्डले स्पष्ट पारे ।

 

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग राष्ट्रपति, मन्त्रीदेखि ठूला नियुक्तिमा प्याकेजमै समझदारी गरेर मात्रै पार्टी सरकारमा जाने बताए । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक विस्तार भएको मन्त्रीमण्डलमा माओवादी सहभागी नहुँदा प्रश्न उठेको बताउँदै प्रचण्डले भने, ‘पार्टी एकतामा ठूलो समस्या आएको होइन । राष्ट्रपति, मन्त्री र ठूला नियुक्ति र सरकारका काम सम्बन्धी विषयमा एकैचोटी समझदारी बनाएर दृढताका साथ अगाडि बढ्छौँ ।’ पार्टी एकताबारे शंका नगर्न समेत उनको आग्रह थियो ।

 

कार्यक्रममा पूर्व शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा नियमावली ल्याएर शिक्षक कर्मचारकिा समस्या स्थायी रुपमा समाधान गर्छु भन्दा कर्मचारी प्रशासनको असयोगका कारण आफु असफल भएको बताए । ‘शिक्षाका कर्मचारीहरुको असयोगका विरुद्ध राजनीतिक धक्का कम हुँदा नियमावली पारित हुन सकेन ।’ पौडेलले भने । यदी नियमावली आएर आठौं शिक्षा ऐन संशोधन कार्यान्वयन हुन पाएको भए विद्यालय कर्मचारी र इसिडि शिक्षकहरुको समस्या स्थायी रुपमै समाधान भइसक्ने उनले जिकिर गरे ।

 

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले केही सामुदायिक विद्यालयहर मात्रै उत्कृष्ट बनेर नहुने सवै उत्कृष्ट बनाउन शिक्षक, अभिभावक, विद्यार्थी र सरकार हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए । ‘अब सामुदायिक विद्यालयमा बालबालिकाहरु किन रमाएनन्, किन सिकाइ कमजोर भयो त्यता सोचौँ ।’ पौडेलले भने ।

 

नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले स्थानीय तहमा शिक्षाको विकास गर्नु भनेकै शिक्षकलाई कार्बाही गर्नु मात्रै हो भन्ने जस्तो देखिएको भन्दै निर्वाचित जनप्रतिनिधिहरलाई यस विषयमा सचेत गराइदिन नेताहरुसँग आग्रह गरे । ‘हामीहरु ६५३ शासकहरुबाट शासित हुन चाहन्नौँ ।’ उनले भने, ‘विधि र प्रक्रिया भन्दा कोही पनि बाहिर जान पाउदैन ।’
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आर्थिक आयश्रोतका आधारमा हुनेहरुसँग थप शिक्षा कर लिएर भएपनि १२ कक्षासम्म्मको शिक्षा पूर्ण निशुल्क गरिनुपर्ने बताए । शिक्षाको विकास र समृद्धीको मामिलामा शिक्षकवर्गसँग सहकार्य गर्दै अघि बढ्न आफुहरु तयार रहेको उनको भनाइ थियो ।

 

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले सम्मेलनबाट संगठन विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी र शिक्षक निर्माण गर्ने दिशामा अघि बढ्ने बताए । समाजवादी शिक्षा नीतिलाई समाजवादी क्रान्तिको आधार बनाउँदै सम्मेलनले ट्रेड युनियन अधिकार, वामपन्थी शिक्षक एकता र शैक्षिक विकासलाई आफ्नो कार्यनीति ठोस गर्ने बताए ।

 

कार्यक्रममा पूर्व शिक्षामन्त्री गिरीराजमणी पोखरेल, धनिराम पौडेल, पूर्वमन्त्रीहरु तथा शिक्षक नेताहरु अग्नी प्रसाद सापकोटा, हितराज पाण्डे, पुष्पविक्रम मल्ला, चन्द्रकान्त पौडेल, वरिष्ठ शिक्षा पत्रकार रोशन क्षेत्री गाउँलेलगायतलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा देशभरका ११ सय बढी शिक्षक प्रतिनिधिहरुको सहभागीता थियो । शुक्रवार उद्घाटन सत्र शुरुभएको सम्मेलनमा शनिवार र आइतवार बन्दसत्र चल्ने संगठनका महासचिव ऋषिराम चापागाइले जानकारी दिए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top