‘पहिलो प्राथमिकता सरकार गठन’:दाहाल

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २९ गते सोमवार काठमाडौं

 

गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा सिन्धुली क्षेत्र १ (क) बाट लेखनाथ दाहाल विजयी भए । माओवादी केन्द्रबाट विजयी उनी सुनकोशी गाउँपालिका ५ मा जन्मिएका हुन् । ०४६ सालबाट राजनीति सुरु गरेका उनी ६ वर्ष भूमिगत भए । ४ वर्ष जेल जीवन बिताए ।

 

राजनीतिमा सक्रिय दाहालसँग कान्तिपुरका राजकुमार कार्कीले गरेको कुराकानी :

 

अब कामको प्राथमिकता के–के होलान् ?

 

हाम्रो प्राथमिकता भनेको मुख्य ३ वटा कुराहरू रहेका छन् । पहिलो प्रदेश सरकार गठन, सञ्चालन र प्रदेश तथा स्थानीय तहको बजेट निर्माण नै हो । त्यसपछि अन्य कामहरू नियमित सञ्चालन भइहाल्छन् । प्रदेश सरकार गठनका लागि सभामुख, उपसभामुख चयनको प्रक्रिया सुरु भइसकेको छ ।

 

प्रदेश राजधानीबारे के छ तपाईंको धारणा ?

 

३ नम्बर प्रदेशको बहुमत जनसंख्यालाई पायक पर्ने गरी राजधानी राख्नु उपयुक्त हुन्छ । अहिले अस्थायी राजधानीको रूपमा हेटौंडा नै छ ।

 

सार्नका लागि दुई तिहाइ प्रदेश सांसद चाहिन्छ । स्थायी राजधानी काभ्रे हुन सक्छ । विकल्पमा भक्तपुरलाई पनि लिन सकिन्छ । मकवानपुरका जनताले पनि सबैलाई पायक पर्ने गरी न्याय गर्छन् भन्ने लागेको छ ।

 

स्थानीय तहले स्रोतसाधनको मनपरी अपचलन गर्‍यो भन्ने छ, अब प्रदेशले के गर्छ ?

 

सबै कानुन निर्माण गर्ने र लागू गर्ने प्रदेशसँग अधिकार छ । स्थानीय तह सञ्चालनको कानुन पनि प्रदेशले नै बनाउने हो । केही दलाल, ठेकेदारले अहिले मनपरी स्थानीय स्रोतसाधनको अपचलन गरी दुरुपयोग गरेका छन् । अब कानुनबनाएर जनता नै मालिक हुने गरी स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने हो । त्यसबाट रोजगारी सिर्जना हुनुका साथै आत्मनिर्भर बन्न मद्दत पुग्नेछ । अब प्रदेश सरकार बनेपछि ती सबै कामको सुरुवातहुनेछन् ।

 

एमालेबाट मुख्यमन्त्री बनेपछि तपाईको मन्त्री बन्ने सम्भावना कत्तिको छ ?

 

स्वाभाविक रूपमा जिम्मेवारीबाट पछि हट्न मिल्दैन । मेरो लोभ केहीमा छैन । पार्टीले उपयुक्त ठानेर दिएको जुनसुकै पद (मन्त्रालय) को जिम्मेवारी बहन गर्नेछु । तर यही चाहिन्छ भन्ने छैन ।

 

प्रदेशका चुनौतीहरू कत्तिका छन् ?

 

मुलुक संघीय संरचनामा पहिलोपटक गएकाले स्वाभाविक रूपमा चुनौतीका चाङ धेरै नै हुन्छन् ।

 

तर त्यसलाई पार लगाउने हिम्मत राख्नुपर्छ । यसलाई मैले काम गर्ने अवसरका रूपमा लिएको छु ।

 

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

 

जनताले दिएको म्यान्डेटअनुसार चल्ने हो । हामीलाई पत्याएका छन् । त्यसको दुरुपयोग नगरी इमानदारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न लागिपर्नेछु । कमीकमजोरी औँल्याउने जिम्मा सञ्चारकर्मी र अन्य निकायको पनि हुन्छ । त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

 

कान्तिपुर बाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top