‘एमालेको सति जान लागेका प्रचण्डलाई अब चरी, मिलन र घैंटेजस्ता गुण्डाहरु चाहिएको छ’

वलराम तिमिल्सिना ‘विप्लव’ २०७४ माघ २८ गते आइतवार काठमाडौं

 

लेखक:– वलराम तिमिल्सिना ‘विप्लव’

 

केहि दिन अघि संस्कृतिककर्मीहरुको एउटा जमघटमा एमालेसँगको एकताको विरुद्ध आवाज उठाउनेहरुको तेजोवध गर्ने क्रममा प्रचण्डले केहि कुरा बिस्ट सैलिमा राखे । कमरेड आहुतिको नाम नलिइ उनले भने,‘ उ त्यो कुर्सीमा बसेर हो उनले एकता धेरै राम्रो छ भनेको । पहिले त्यहि मानिसले समर्थन गर्ने अहिले त्यहि मानिसले बिरोध गर्ने कस्तो अनैतिक मानिस ?’ प्रचण्डले दुनियाँको दिमाग भुट्ने काम गरे । दिमाग भुटिएका साथीहरु गलल्ल हाँसेर आफ्नो निम्छरोपनको परिचय दिए ।

 

आहुतिलाई ड्यामेज गर्न त्यहाँ प्रचण्डले थप कुरा पनि बोले । उनले बोलेको कुरा यूट्यूबमार्फत तुरुन्तै बाहिर आएकोले उनको भाषण लोकले आफ्नै कानले सुनेर आफ्नो धारणा बनाउन पायो । आफुबाहेक लोकका पनि कान छन् र दिमाग पनि छ भनेर नबुझ्नेहरू अहिले त्यो दिन प्रचण्डले बोलेको कुराको अर्थ के हो भनेर संसारलाई क्लास दिन कस्सिएका छन् ।

 

उनले त्यो दिन बढी पढ्नेहरुको दिमाग खराब हुन्छ भन्दै बाबुरामको उदाहरण दिएर आहुतिलाई खरानी बनाउन खोजे । अक्सर कस्तो हुने गरेको छ भने लेखक कलाकारहरुको समुहमा बोल्ने क्रममा प्रचण्ड अलि बढी नै बहकिन्छन । एकपटक खन्ना गार्मेन्टको कार्यक्रममा प्रचण्डले बाबुरामका बिरुद्ध बढी बोलेर पार्टीभित्र ठुलै हङ्गामा भयो । अर्को पटक कलाकार माइला लामाको म्युजिक भिडियोको विमोचनको बेला पनि प्रचण्ड बहकिए र आफु पार्टीभित्रै घेराबन्धिमा परेको कुरा गरेर हलाखाल्ला मच्चाए ।

 

यो पटक जसका बिरुद्ध उननले आगो ओकले ती मानिसहरु पार्टीभित्र नभएकोले उनले पार्टीभित्र कुनै बिरोधको सामना गर्नु परेन । यो पटकको उनको बहकावको बिरोध पार्टीबाहिरबाट भने बेस्सरी भयो । यहि विषयको सेरोफेरोमा रहेर राजेन्द्र महर्जन र उज्ज्वल प्रसाईले लेख नै लेखेर आफ्नो धारणा सार्वजनिक गरे ।

 

उनीहरु दुवै जना आहुतिले बनाउने भनेको पार्टीका सदस्य पनि थिएनन् । प्रचण्डको अभिव्यक्ति आहुतिका बिरुद्ध मात्र नभएर ज्ञानको बिरुद्व भएको कुरा धेरैले बुझे । बढी पढेपछि बढी बुझ्ने हुन्छन र बढी बुझेपछि राजनीतिक नेतृत्वले गर्ने हरेक गतिविधिमाथि प्रश्न उठ्न थाल्छ भन्ने मनोबैज्ञानिक त्रासबाट ग्रसित भएर प्रचण्डले बोलेका हुन् भन्ने धेरैको निस्कर्ष आयो ।

 

माओवादीको एमालेमा हुन लागेको कलात्मक बिलयको बारेमा खुलेर समर्थन गर्न एक जना पनि गतिलो लेखक मैदानमा आएन । व्यक्तिगत लाभ हानिलाई केन्द्रमा राखेर सोच्ने अवसरवादी बुद्धिजीवीहरु यो एकताबाट भित्रभित्रै खुसि भए पनि बाहिर खुलेर यो बिलयको महिमा गान गाउन सकेनन । बरु विभिन्न कोणबाट आलोचनाहरु सुरु भयो । पार्टी्भित्रका आहुति लगाएत सानो समुहले यो तथाकथित एकताको बिरोध गरेको भए पनि यो आवाज गुनासोको लुते आवाज थिएन ।

 

यो व्यवस्थित तरिकाले बैकल्पिक धारा सृष्टि गर्ने आवाज थियो र यो आवाजले बिस्तारै माओवादी केन्द्र भित्रका सापेक्ष इमान्दारहरुको ध्यानाकर्षण हुन थालेको थियो । पार्टीभित्र पूँजीवादी पतनको यात्रामा रमाउन नसकेका र पश्चाताप गर्दै विकल्प खोजिरहेका कार्यकर्ताहरूको ठूलो पंक्ति माओवादीभित्र छ । र त्यो शक्ति बिस्तारै आहुतिहरुले उठाएको आवाजले तानिन्छ भन्ने अनुमान गरेका प्रचण्डको अगाडि आहुतिलाई दुई जिब्रे फटाहा साबित गरेर ड्यामेज गर्नु थियो ।

 

त्यो ड्यामेज गर्ने कार्यक्रमको आयोजना जनसांस्कृतिक महासंघ नेपालले गर्‍यो र त्यो कार्यक्रममा प्रचण्ड सुनियोजित रुपमा उत्रिए । सुखद भनौ या बिडम्बना भनौ ? प्रचण्डको एमालेमा सति जाने निर्णयका बिरुद्ध माओवादीको कुनै पनि जनवर्गीय संगठन र मोर्चामा आवाज उठेन । कुनै पनि प्रदेश कमिटी या जिल्ला कमिटीले प्रश्न उठाएन ।

 

एउटा पनि कमिटीले प्रश्न नउठाएको यस्तो सजिलो बाटोमा संस्कृतिक विभागका इन्चार्ज लगायत संस्कृतिक मोर्चाका पदाधिकारीहरु अनि यो संगठन वरपर बसिरहेका कबि तथा लेखकहरुको ठुलो हिस्साले प्रचण्डको योजनाको बिरोध गरेपछि खपी सक्नु पनि भएको थिएन होला । हो त्यही खपी नसक्नु भएको छटपटिको पोल पेरिसडाडामा खुल्न पुग्यो ।

 

प्रचण्ड आलोचना मन पराउदैनन :

 

प्राय नेताहरू आलोचना मन पराउदैनन । अरु नेताहरूजस्तै प्रचण्ड पनि आलोचना फिटिक्क मन पराउदैनन भन्ने कुराको पुस्टि यो पटक पनि भयो । उनि आलोचना मन पराउने नेता हुन्थे भने उनले भन्नु पथ्र्याे,‘ केहि साथीहरुलाई अहिले मैले हिड्न खोजेको बाटो मन परेको छैन । प्रचण्डले पार्टीलाई एमालेमा लगेर बर्बाद पार्छ कि भनेर साथीहरु आत्तिनु भएको छ । वाहाहरूको चिन्ता आफैमा खराब छैन ।’

 

‘हिजो बिश्वास भएको बेला मलाई ज्यान दिएर सहयोग गर्ने उँहाहरु नै हो । अहिले उँहाहरुलाई पार्टी खत्तम हुने भयो भनेर चिन्ता लागेकोले , येत्रो पार्टी खत्तम पर्न पाइन्न भनेर रिसाउनु भएको छ । म उँहाहरू लाइ भेटेर मेरो कुरा बुझाउने प्रयत्न गर्छु । उँहाहरू सहमत हुनु भयो भने ठिकै छ हामी सगै जाउला । सहमत हुनु भएन भने हामि आफ्नो बाटो लागौला , उँहाहरु आफ्नु बाटो लाग्नु होला ।’

 

दुवै थरिको बिचार प्रयोगमा जान्छ । प्रयोगको क्रममा जसको बिचार बैज्ञानिक हुन्छ त्यो सबैले मानौला । प्रचण्डले यसो भनेको भए उनको परिपक्कता प्रमाणित हुने थियो । तर उनले त्यसो गरेनन । बरू बडो तामसी तरिकाले हुटित्याउले आकास थाम्ने भनेर आफुलाई मात्र शक्तिशाली र अरुलाई निरिह देखाउन पो कस्सिए । कार्यक्रममै अलिकति बिरोध बोलेका बिष्णु भण्डारीलाई कहाँ जान्छौ जाउ भनेर धम्कि दिए ।

 

यसबाट के प्रमाणित हुन्छ भने अब प्रचण्डलाई आलोचनात्मक चेत भएका मानिसहरु होइन बरु चरी मिलन र घैंटे जस्ता गुण्डाहरु चाहिएको छ । उनी अब आन्दोलनभित्र निष्ठावान कार्यकर्ता होइन बरु लोभी निर्घिणी लम्पट हसबहादुरहरु जन्माउन चाहन्छन । जसले केलाई प्रश्न उठाउने हिम्मत नगरोस ।

 

प्रचण्डलाई अब एमालेसग बिलयको प्रचण्ड पहललाई प्रचण्डको यो शताव्दिकै महान आविष्कार हो भनेर लेखिदिने लेखनदास चाहिएको छ । प्रचण्डले लेखनदास खोजेका छन् । राजेन्द्र महर्जन र उज्वल प्रसाईहरु लेखनदास बन्न मान्दैन । आहुतिहरु लोकेन्द्र बिष्टलाइ समेत लिएर हिड्न थालेका छन् । यसरि आफुले हुटिट्याउँ मानेकाहरुले अर्को पार्टी खोल्ने चुनौती दिन थाले पछी प्रचण्डको पारो तात्ने नै भयो ।

 

प्रश्नहरुको हत्याः

 

यो पटक पेरिसडाडामा प्रचण्डले प्रश्नहरूको हत्या गर्ने कोसिस गरे । प्रश्न उठाउनेहरुको चरित्र हत्या गरिदियपछी प्रश्नहरु स्वत मर्छन भन्ने ठानेर उनि आहुतिमाथि जाइलागे । त्यहा उपस्थित साथीहरुले प्रश्नहरुको हत्याको उत्सव मनाएर आफ्नै टाउकोमा बन्चरो हाने । तर प्रश्नहरु मरेनन । प्रश्नहरू त अझ तगडा भएर फेरी पो जन्मे ।

 

प्रश्नहरुको घेराबन्दीमा प्रचण्ड त परे परे त्यो प्रश्न हत्याको अनुष्ठानमा सहभागीहरुले पनि महसुस गरे कि हामी घेराबन्दीमा परेका छौ । त्यस पछी उनीहरुपनि प्रश्न उठाउन कस्सिएकाहरुका बिरुद्व लेख नै लेखेर जाइलागेका छन् । जो साथी लेख लेखेर सामान्य भाषामा प्रतिवाद गर्न आएको छ ती साथीलाई अहिले गालि गर्नु पर्ने मैले देखेको छैन । बरु शान्त भएर ती साथीको कुरा सुन्ने र जवाफ दिने गर्नु पर्छ ।

 

प्रचण्डको अबको दिशा :

 

प्रचण्ड एउटा व्यक्ति मात्र नभएर एउटा प्रवृति हो । जनयुद्वको तयारी हुदै जनयुद्वको नेतृत्व गर्दाको प्रचण्डको एउटा छवी छ । क्रान्तिकारी छवी । उनकै नेतृत्वमा चलेको जनयुद्वको मुख्य भूमिकामा नेपालमा सामन्तवादको अन्त्य भयो र देश गणतन्त्रमा प्रवेश गर्‍यो । मुलत उनकै नेतृत्वमा देशमा पुजिवादी जनवादी कार्यक्रम पुरा भयो । त्यो प्रचण्डको उत्थानको युग थियो । शान्ति प्रक्रियामा आए पछी प्रचण्डको उत्थानमा गत्यावरोध आयो । उनि एक पछी अर्को सम्झौताको शिकार भए । लोकले देख्ने गरि उनले कैयन दक्षिन्पन्थि गल्तिहरु गरे ।

 

जब प्रचण्ड दक्षिन्पन्थि बाटोतिर लागे कमरेड किरणले यो अनुभूति गरे र सम्बन्ध बिच्छेद गरे । अब प्रचण्डलाइ खबरदारी गर्ने कोहि भएन । बाबुराम भट्टराई अझ छिट्टै पूजीवादको बाटोमा जान चाहेकाले उनले सहयोग गर्ने कुरै भएन । नारायणकाजीको कुरा पनि रुपमा मात्र क्रान्तिकारी थियो । आफ्नो गुटको रक्षाको कुरा आएपछि बुरुक्क उफ्रने र अरु बेला सुत्ने उनको रोग थियो । पोष्ट बहादुर बोगटी इमान्दार हुनुहुन्थ्यो तर वहाले प्रचण्डको सामना गर्न सक्नु भएको थिएन ।

 

हृदयाघातले पोष्ट बहादुरको मृत्यू पछी प्रचण्ड झन् फुक्काफाल बने । त्यस पछिका नेताहरु प्रचण्डको समू घुर्की लगाउन त योग्य देखिए तर प्रचण्डलाई करेक्सन गर्ने हैसियतमा देखिएनन् । पार्टी कमिटि नामको मात्रै हुन्थ्यो । बैठकहरु तालि बजाउन मात्र राखिन्थे। तल्लो स्तरको नेतृत्वले पनि समयमै आफुलाई सचेत बनाउन सकेन । भित्र लड्ने उपयुक्त वातावरण नदेखेका धेरै जसो नेता कार्यकर्ताहरु निराश भएर निष्क्रिय बसे । पलायन भए या चुपचाप बसे ।

 

यसरी कार्यकर्ताको नाडी छाम्दै दक्षिण हिड्दै गरेर प्रचण्डले पार्टीलाइ मृत्यूको मुखमा ल्याई पुर्‍याएका थिए । केहि महिना अघि प्रचण्डले बैठकमा पार्टीलाई बिघटन गर्ने कुरा उठाए । धेरै मानिसहरुले प्रचण्डको त्यो कुराको भेउ नै पाएनन् । बिचरा प्रचण्डलाइ कसैले सहयोग नगरेर यस्तो निराश अभिव्यक्ति दिए भन्ने पर्‍यो । उनि निराश भएका त हो रहेछन तर पार्टीलाई क्रान्तिकारी बनाउन सकिन भनेर होइन रहेछ बरु उनको व्यवस्थित दक्षिण यात्रालाई साथीहरुले सहयोग गरेनन बरु फेरी क्रान्तिकारी बनाउने कुरा गरेर दिमाग खराव पारे भनेर रहेछ ।

 

अहिले एमालेमा मिसिन जाने कुरा प्रचण्डको दिमागमा एक्कासि आएको होला त ? होइन । बरु यो त करिब दश बर्षको प्रचण्डको संसदीय पुजिवादमा समाहित हुने भित्रि योजनाको अन्तिम कडी मात्रै हो । उमेर अनुभव र बिचारले प्रचण्ड थाकिसकेका थिए । यहि जुनीमा फेरी पुजिवाद्का बिरुद्ध लडेर आजको भुमण्डलीकृत साम्राज्यवादलाइ जित्न सकिन्छ भन्ने नलागेपछि प्रचण्ड अनुहार बचाएर यहि व्यवस्थामा कसरी सामेल हुने भनेर सोच्न थाले ।

 

पार्टी घट्दै घट्दै गैरहेको उनलाई थाहा थियो । यहि पार्टीलाई रुघेर एक नम्बरको संसदीय पार्टी बनाउने सम्भावना पनि उनले देखेनन । एक पटक सत्तामा गएर फर्केका नेता तथा कार्यकर्तालाई सरकार बाहिर थामेर राख्न पनि सम्भव थिएन । सडकमा रोकेर राख्न सडकको कार्यक्रम हुनु पर्नेमा त्यो पनि थिएन । त्यस पछी प्रचण्डले सोचे– यो पार्टी एक्लै हिडे पनि एमाले हिडेकै बाटोमा हिड्ने भएपछी किन एक्लाएक्लै हिड्ने ? बरु एउटी पार्टी भयो भने एमालेलाई पनि फाइदा आफ्नु पार्टीलाई पनि फाइदा हुन्छ भन्ने सोचेर उनले यो मूभ गरे । एमालेलाई पनि एक्लै हुदा ठुलो पार्टी भए पनि सुविधाजनक बहुमत नपुग्ने डर थियो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top