पूर्वराजाले भारतमा हिन्दूधर्म बचाउन विशेष अपिल गरे

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २८ गते आइतवार काठमाडौं

 

पूर्वराजा ज्ञानेन्द्र शाहले सनातन हिन्दू धर्म बचाउन विशेष अपील गरेका छन् । भारतको उडिसामा रहेको जगन्नाथ मठ पूरीमा विशेष समारोहमा बोल्दै उनले हिन्दू सनातन धर्म जोगाउनका लागि आफ्नो तर्फबाट सबैले भूमिका खेल्नुपर्नेमा विशेष आग्रह गरेका हुन् ।

 

पूर्वराजाले नेपालको राजनीतिक क्रम गलत प्रक्रियाबाट अगाडि बढे आफू एक कदम अगाडि बढ्ने संकेत समेत गरेका छन् । त्यो कदम के हुन सक्छ भन्ने बारेमा उनले केही उल्लेख गरेका छैनन् ।

 

जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको पदावधिको २५ वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रुपमा पुगेका पूर्वराजालाई त्यहाँ विशेष सम्मान गरिएको हो । पूर्वराजालाई वर्तमान राजाजसरी नै सम्मान गरिएको छ ।

 

पूर्वराजालाई उडिसा राज्यका मुख्य मन्त्री नवीन पटनायक, त्यहाँका साक्षी महाराजासंगै विभिन्न सांसदहरुले समेत भेट गरेका छन् । त्यो भेटमा अब गम्भीर भएरै नेपालमा हिन्दू राज्य र राजसंस्था ब्युँताउने विषयमा छलफल भएको स्रोत बताउँछ ।

 

स्रोत भन्छ – भारतीयहरुले खुलेर पूर्वराजासंग कुरा राखेका छन्, हिन्दू धर्म र राजसंस्थाको स्थायीत्वका लागि आफूहरुले सक्दो सहयोग गर्ने वचन समेत दिएका छन् । माघ २२ गते भारत गएका पूर्वराजा फागुन ५ गतेमात्र फर्कने कार्यक्रम रहेको छ ।

 

पूर्वराजाले वाउकाउ र जगन्नाथपूरीको कार्यक्रममा गरी दुई वटा प्रेस वक्तव्यसमेत जारी गरेका छन् । ती वक्तब्यले हिन्दूधर्मको रक्षाका बारेमा विशेष जोड दिएको छ ।

 

पूर्वराजा सोमबार जगन्नाथपूरीबाट कोलकाता फर्कने कार्यक्रम छ । कोलकातामा फर्केपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि टेलिफोन वार्ता हुन सक्ने जनाइएको छ । जगन्नाथपूरीको विशेष समारोहका लागि विश्व हिन्दू महासंघका प्रतिनिधिलाई पनि बोलाइएको थियो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top