भ्यालेन्टाइन सप्ताहका लालजोडी

– रवि मिश्र २०७४ माघ २७ गते शनिवार काठमाडौं

 

– रवि मिश्र

कामरेड ओलीले गुलावको फूल किन्नुभो । एकफेर सुँघ्नुभो र भन्नुभो, “हन के फूल राख्या यो ? सुँघ्दै पसिना गनाउने । अलि हरर बास्नेदार छैन ? परफिम् जस्तो । अगरबत्ती जस्तो । चमेली बास्ना छुटाउने खालको ।”

 

साउजीले भन्नुभो, “यो स्पेसल बास्ना हो कामरेड । महान कामरेडलाई दिने खालको भन्नुभो, त्यसैले त्यस्तै खालको मगाएको हजुर । किसानको बारीबाट । सर्वहाराका नेतालाई पसिनाको बास्ना मन पर्छ भनेर । भएन र ?”

 

“तोइट !” ओलीजीले भन्नुभो, “यस्तो नि बास्ना हुन्च ? यस्ले त रिंगाटा छुटाउँछ । नाथ्री फुटाउँछ । पार्टी एकता भाँड्छ । यस्तो माक:फुइँ गन्धको नि फूल राख्ने हो ? फूल त देख्दा मार्क्सवादको फ्लेवर आओस् । सुँघ्दा सत्ता लेभलको परम् आनन्द मिलोस् । कुर्सीमै बसेजस्तो । फननन घुमेको जस्तो । रोमाञ्चक । आहा !”

 

“त्यस्तो फ्लेवरको फूल त छैन कामरेड,” साउजीले भन्नुभो, “हुन्च भनेर सुनेको पनि आजै हो ।”

 

ओलीजीले भन्नुभो, “हैन, तपाईंले गैंडै देख्नुभा छैन कि के हो ? गैंडा देखेको मान्छेले त यसो भन्न नपर्ने हो । देखेको छैन भने एकपटक सौराह जानुस् । गैंडा हेर्नुस् । जाने फुर्सद छैन भने सयको नोटमा हुन्च । त्यै हेर्नुस् । खैर केही छैन । अहिलेलाई यसमा अत्तर छरेर अलि उत्ताउलो बास्नेदार बनाम् । अत्तर चैं हत्तपत्त नउड्ने खालको है ।”

 

० ० ०

 

“ढ्वाक ढ्वाक ढ्वाक !”

 

कामरेड प्रचण्डले ढोका खोल्नु भो र भन्नुभो, “ओली कामरेड पो ?”

 

“अनि देउवाजी हुनु पऱ्यो त ?” ओलीजीले भन्नुभो, “हेप्पी भेलेन्टाइन सप्ताह कमरेड ! आज रोज डे रे । गुलाव दिन आ’को ।”

 

“हाहाहाहा !”

 

प्रचण्डजी एक हल हाँस्नुभो र भन्नुभो, “माझीलाई माछाको कोसेली ! हँसाम्नु हुन्च तपाईं । जसको नामै पुष्प छ, उसैलाई गुलाव पुष्प उपहार ? पुष्पकमललाई पुष्पगुलाव । हिहिहि…. ! नयाँ ढंगले अघि बढिरहेको बेलामा निश्चित रुपमा नयाँ ढङ्गको पो उपहार दिनुपर्छ त !”

 

“अनि रोज डे छ, के हुक्का दिनु त नयाँ ढङ्गको भन्दै ?” कामरेड ओलीले भन्नुभो, “हुक्का त हुक्का डेमै दिम्ला । आज रोज डे । गुलावै लिनुस् । बरु सुगन्ध उड्ला । छिटो समाउनुस् ।”

 

कामरेड प्रचण्डले भन्नुभो, “रोज डे भए रोज होइन, रोजेको दिनुस् । म नि तपाईंलाई रोजेको दिन्छु ।”

 

कामरेड ओलीले सोध्नुभो, “के रोज्नुहुन्छ ?”

 

प्रचण्डजीले भन्नुभो, “प्रधानमन्त्री ठूलो दलले खानुपर्छ । म अध्यक्ष रोज्छु । त्यै दिनुस् । तपाईं के रोज्नुहुन्छ ?”

 

ओलीजीले भन्नुभो, “म त दुबै रोज्छु । अध्यक्ष पनि, प्रधानमन्त्री पनि । दुबै दिनुस् ।”

 

प्रचण्डजीले सोध्नुभो, “दुबै तपाईंलाई दिएर मलाई चैं के नि ?”

 

“तपाईं यही गुलाव लिनुस् । काइताको छ, “ओलीजीले भन्नुभो, “मैले ठ्याक्कै दुई घण्टा लगाएर छानेको । सुन्दर, सुगन्धी !”

 

“तपाईंको फूल तपाईं नै राख्नुस्,” प्रचण्डजी कड्किनुभो, “यसरी नि पार्टी एकता हुन्च ?”

 

“त्यसो भए यसो गरम्,” ओलीजीले भन्नुभो, “प्रधानमन्त्री त मलाई भैगो । अध्यक्षको लागि एउटो सिक्का माथि हुऱ्याम । गाई कि त्रिशूल गरौं । गाई परे नि मलाई । त्रिशूल परे नि मलाई ।”

 

प्रचण्डजीले सोध्नुभो, “अनि ठाडो परे चैं मलाई ?”

 

ओलीजीले भन्नुभो, “हैन । त्यो जोखिम पनि नउठाम् । सिक्का खस्दा हिलो अथवा गोबरमा पऱ्यो भने गाडिएर ठाडै पनि रहन सक्छ । त्यसैले ठाडै परे नि मलाई नै ।”

 

प्रचण्डजीले सोध्नुभो, “अनि मलाई चैं ?”

 

ओलीजीले भन्नुभो, “हुऱ्याएको सिक्का खसेन । हावामै अडिरह्यो भने तपाईंलाई । हावामै गाई देखिएर अडिए नि तपाईंलाई । त्रिशूल देखेर अडिए नि तपाईंलाई । ठाडै अडिए नि तपाईंलाई । टस गरम् ?”

 

“तपाईंको टस मलाई टेस परेन हेर्नुस्,” प्रचण्डजीले भन्नुभो, “कहीँ नपाएर हावामा नि अडिन्छ सिक्का ? हावा कुरा !”

 

ओलीजीले भन्नुभो, “ईश्वरले तपाईं अध्यक्ष भएको देख्न चाहे भने अडिन्छ ।”

 

प्रचण्डजीले भन्नुभो, “ईश्वरको त तपाईंको जत्तिको नि विश्वास छैन । ती पोखरेलजीले त उहिल्यै भन्या- अध्यक्ष, प्रम सप्पै तपाईं (ओलीजी) नै हुनुपर्च भनेर ।”

 

“बरु यसो गरौं,” प्रचण्डजीले उपाय फुराउनुभो, “एउटो गुलेली ल्याम् !”

 

“किन ल्याउने गुलेली ?” ओलीजीले भन्नुभो, “स्पष्ट बहुमत आ’छ । सरकार बन्ने पक्का छ । अझै नि गुलेलीले सत्ता कब्जा गर्न पर्छ ?”

 

प्रचण्डले भन्नुभो, “गुलेली सत्ता कब्जा गर्न होइन ।”

 

ओलीजीले भन्नुभो, “क्यार्न त ?”

 

“टस गर्न ।”

 

“गुलेलीले नि टस हुन्छ ?”

 

“गरेसी हुन्च ।”

 

“कसरी ?”

 

“गुलेलीमा सिक्का चढाउने । अनि पूरै तन्काउने,” प्रचण्डजीले बताउनुभो, “त्यसपछि बागमतीतिर टुइँक्याउने । पानीमै पुग्ने गरी ।”

 

ओलीजीले उत्सुक हुँदै सोध्नुभो, “अनि के हुन्च ?”

 

प्रचण्डजीले मुस्कुराउँदै भन्नुभो, “अनि सिक्का भेटिए तपाईं अध्यक्ष । नभेटिए म ।”

 

“तोइट !” ओलीजीले भन्नुभो, “गुलेलीले पार्टी कब्जा गर्न खोज्ने ?”

 

० ० ०

“आज त प्रपोज डे रच,” प्रचण्डजीले भन्नुभो, “हेप्पी प्रपोज डे कामरेड । पार्टी एकता गरौं । यही प्रस्ताव राखें ।”

 

“सेम टु यु कामरेड,” ओलीजीले भन्नुभो, “हुन्च । गरिहालौं । अध्यक्ष, प्रधानमन्त्री दुबै मैलाई गरम् । अर्को प्रस्ताव राखें ।”

 

“धत् ! यस्तो नि प्रपोज हुन्च ?” प्रचण्डजीले भन्नुभो, “योभन्दा त देउवाजीको प्रस्ताव गतिलो थियो ।”

 

ओलीजीले अत्तालिँदै सोध्नुभो, “के भन्थे ?”

 

प्रचण्डजीले सुनाउनुभो, “प्रधानमन्त्री बनिदिनुस् भन्नुन्थ्यो । ल्याप्च्यै लाएर दिने रे पाँच वर्षलाई ।”

 

“मेरी आम्मै !” ओलीजीले भन्नुभो, “कान कुल्ला गरेर आउनुस् । बुद्धि बिग्रिन सक्छ यस्ता कुरा सुन्दा मात्रै पनि ।”

 

० ० ०

 

“हेप्पी चकलेट डे कामरेड !” ओलीजीले हातमा २५० ग्रामको क्याड्बरी थमाउँदै भन्नुभो, “लौ लिनुस्, आज चकलेट डे रच !”

 

“चक्लेट खान्नँ सुगर छ !” प्रचण्डजीले भन्नुभो, “अध्यक्ष दिनुस्, सुगरफ्री ।”

 

० ० ०

 

“प्रचण्डजी चियर्स !” देउवाजीले भन्नुभो ।

 

“आज टेडी बियर डे रच । मैले टुबोर्ग बियर पो ल्याएछु । आउनोस् दन्काम् । ज्योतिषले आज बियर खाए प्रधानमन्त्री बनिन्छ भन्याछन् !”

 

“यता आउनुस् यता,” प्रचण्डजी बोल्न नभ्याउँदै ओलीजीले तानेर पर लग्नुभो । सम्झाउनुभो, “रौसी, बियर खानु हुन्न कामरेड ! कलेजो झिरिप हुन्च ।”

 

० ० ०

 

“आउनोस् कामरेड ! आज हग डे रे । हामी हग गरौं ।”

 

कामरेडहरु अँगालोमा बाँधिनुभो ।

 

“हन कामरेड किन हाँस्नुभा ?” ओलीजीले सोध्नुभो ।

 

“कुर्सी सम्झेर काउकुती लाग्यो !” प्रचण्डजीले भन्नुभो ।

 

ओलीजीले भन्नुभो, “कुर्सी सम्झिनु हुन्न, मती भ्रष्ट हुन्च । मार्क्सवाद सम्झिनुस्, लेनिनवाद सम्झिनुस्, भण्डारीज्यूको जबज सम्झिनुस्, मेरो राष्ट्रवाद सम्झिनुस् । कुर्सी म सम्झिन्छु । तपाईं नसम्झिनुस् । कुर्सी सम्झ्यो भने चित्त शुद्ध हुन्न । चित्त सुद्ध नभई साम्यवादमा पुग्न सकिन्न ।”

 

० ० ०

 

“आज प्रमिस डे रे कामरेड !” प्रचण्डजीले भन्नुभो, “म पार्टी एकता गरी छाड्ने प्रमिस गर्दछु ।”

 

“म पनि पार्टी एकता गरी छाड्ने प्रमिस गर्दछु,” ओलीजीले थप्नुभो, “साथै अध्यक्ष र प्रधानमन्त्री दुबै नछाड्ने प्रमिस पनि गर्दछु ।”

 

प्रचण्डजीले नि अड्डी लिनुभो, “म पनि दुइटामध्धे एउटो कालले छोड्ला, नछोड्ने प्रमिस गर्दछु ।”

 

० ० ०

 

“आज किस डे रच,” ओलीजीले प्रमको कुर्सीलाई चुम्नुभो र भन्नुभो, “किस डे चुमेर मनाउनुपर्छ । अब पालो अध्यक्ष कुर्सीको ।”

 

“पख्नुस कामरेड !” प्रचण्डजीले रोक्नुभो, “तपाईं जुठो नहाल्नुस् । त्यो मेरो हो ।”

 

० ० ०

 

फेरि त्यही दिन अर्थात भ्यालेन्टाइन साङ्गेको अघिल्लो दिन महाशिवरात्रि परेछ । अब यो लालजोडी वामपन्थी सरकारको शिवबुटी फुइँक्याउँदै एकता आनन्द लिन्छन् कि पद बाँडफाँडको वैरागले एकतामोह भङ्ग भई चिम्टा, कमण्डलु बोकी बाबाजीको पछि लाग्छ्न्, जगको चासो यसैमा छ । कामरेडहरुको प्रणय दिवस नि यसैमा निर्भर छ । यस सुपरजोडीलाई हेप्पी भ्यालेन्टाइन डे !

 

(वास्तविक जीवनमा कतै नाम सुनेझैं लाग्ने पात्रहरु काल्पनिक हुन्)

 

बाह्रखरी बाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top