‘अब लोडसेडिङ भयो भने ओभरलोडका कारण हुन्छ’:कुलमान घिसिङ

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २५ गते बिहीवार काठमाडौं

 

हिउँदको सुख्खायाममा पनि यतिबेला सरकार वा विद्युत प्राधिकरणले लोडसेडिङको घोषणा गरेको छैन । तैपनि काठमाडौंमा दिनहुँ झ्याप्प-झ्याप्प बिजुली जान थालेको छ । के सुख्खायाम लागेसँगै विद्युत अभाव सुरु भएको हो ? हामीले विद्युत प्राधिकरणको कार्यालयमै पुगेर कुलमान घिसिङसँग जिज्ञासा राख्यौं ।

 

काठमाडौंंमा बेलाखबत बिजुली किन गइरहेको छ भन्ने हाम्रो प्रश्नको जवाफमा घिसिङले यसका धेरैवटा कारणहरु बताए । तैपनि आफ्ना साथीहरुले ‘फेन्टास्टिक म्यानेजमेन्ट ‘गरिरहेको उनले सुनाए ।

 

 

र, कुलमानले यो पनि विश्वास दिलाए कि अब नेपालमा लोडसेडिङ सकियो । अर्को वर्षदेखि लोडसेडिङ भइहाल्यो भने पनि विद्युत नपुगेर होइन कि ओभरलोड भएर चाहिँ हुनेवाला छ । किनभने, हाम्रोमा बिजुली थपिए पनि त्यसलाई धान्ने वितरण प्रणाली कमजोर छ र पुरानो सिस्टमले लोड धान्न सक्ने अवस्था छैन । काठमाडौंको हालत त झनै गए गुज्रेको छ, जसलाई सुधार गर्न दुई/तीन वर्ष लाग्न सक्छ ।

 

बिजुलीका सम्बन्धमा कुरा गर्ने क्रममा हामीले घिसिङसँग यो पनि सोध्यौं कि जाडोमा हिटर बालेर धेरै विजुली खपत गर्ने उपभोक्तालाई तपाईको सुझाव के छ ? अनि ललितपुरका केही स्थानमा बिजुली नै काटिदिने धम्की किन दिनुभएको  ?

 

कुलमान घिसिङसँग बिजुली सम्वाद

 

अहिले सुख्खायाममा विद्युत उत्पादन क्षमता घट्छ हैन ? यही कारणले गर्दा पो काठमाडौंमा अघोषित लोडसेडिङ सुरु भएको हो कि ? नभए, किन प्राधिकरणले दिनहुँ लाइन काटेको ?

 

पावर मिनिमम हुनेबेला अहिले नै हो । यसपालि त जाडो पनि एकदमै छिटो आयो । हिउँ जमिहाल्यो । पानी नै जमेपछि जलाशयको पानी त साटसुट्टै घट्यो नि त । अहिलेको अवस्था यो हो ।

 

त्यसो भए त अब सुख्खा याममा लोडसेडिङ पो खप्पनुपर्ने पो हुन्छ कि क्या हो ?

 

 

लोडसेडिङ अहिले देशैभरि छैन । यसपालिको लोडसेडिङको व्यवस्थापन एकदमै राम्रो छ । काहीँ पनि लोडसेडिङ गर्नुपर्ने स्थिति छैन । देशैभरि लोडसेडिङ छैन ।

 

लोडसेडिङ छैन भन्ने प्रमाण के हो भने कुलेखानीमा गत साल आजको दिन पानीको जति लेबल थियो, यस वर्ष पानीको लेबल ३ मीटर माथि छ । हामी लगभग १५२२ मिटरमा छौं । यो भनेको ठूलो भोल्युम हो ।

 

तपाई लोडसेडिङ छैन, कुलेखानीमा पनि पानी प्रशस्त छ भन्नुहुन्छ, यता काठमाडौंमा दिनहुँ बत्ती जान थालिसक्यो ।

 

लोडसेडिङवालाले पो चलेखल गर्दैछन् कि ? किन बत्ती निभेको त उसो भए ?

 

काठमाडौंभित्र प्राविधिक समस्याहरु छन् । जहाँसम्म काठमाडौंभित्र झल्याकझुलुक बत्ती जान्छ भन्ने कुरा छ, बिहान ६ बजे या साढे ५ बजेतिर एक मिनेटका लागि जान्छ । यो पावर सिफ्ट गरेको हो । हाम्रो पावर पूरै सिंक्रोनाइज्ड छैन, छुट्टाछुट्टै छ । त्यसैले कहिले एकातिर लोड बढ्दा अर्कोतिर घट्छ । यताको उता गरिरहनुपर्छ ।

 

त्यसैगरी बेलुका पनि एकचोटि ९, १० वा ११ बजेको वीचमा एकछिन १०/१५ मिनेटलाई स्वीच्ड गरिन्छ । त्यसबेला धेरै पार्टमा हुँदैन, सीमित भागमा बत्ती निभ्छ । मैले ९ बजेअघिसम्म स्विचिङ्ग नगर्नु भनेको छु । किनभने, ९ बजेपछि लोड घट्छ अनि सप्लाई मिलाउनुपर्‍यो नि ।

 

राति चाहिँ लाइन काट्नुको कारण के हो ?

 

किनभने अन्तबाट सप्लाई गरेर हाम्रो कालीगण्डकीमा पानी जम्मा गर्नुपर्छ । त्यसरी मिलाउनुपर्छ । कालीगण्डकी, मर्‍याङ्दी राति बन्द गरेन भने त भोलिपल्ट पिक आवरमा बिजुली दिनै सकिँदैन नि । यस्तो म्यानेज गर्नुपर्छ कि हाम्रा साथीहरुले एकदमै फेन्टास्टिक म्यानेजमेन्ट गरेका छन् । अहिले तराईतिर काहीँ पनि लोडसेडिङ छैन । काठमाडौंमा स्वीचिङको एउटा टेक्निकल पाटो छ ।

 

काठमाडौंको वितरण प्रणाली बाहिरी जिल्लाको भन्दा खराब छ कि क्या हो ?

 

यहाँ कहिलेकाँही सिस्टम झ्याप्पै जान्छ । किनभने हामीले सबैतिर पावर पुगेर त वितरण गरेका छैनौं, नपुगे पनि हामीले सिस्टमलाई ब्यालेन्स गरेर राखेका हुन्छौं । कुनै एउटा ट्रान्समिटर फल्ट भैदियो भने हेबी सप्लाई बन्द हुन्छ । त्यसमा लोड त भैरहेको हुन्छ । तर, यसले गर्दाखेरि देशभरिको फूल सिस्टम कोल्याप्स गर्दिन्छ । र, यो रिभाइभ गर्नलाई एकघण्टा जति लाग्छ । यस्तोचाहिँ कहिलेकाँही हुन्छ । यस्तो बेलामा विस्तारै एउटा-एउटा गर्दै सबै खोल्दै जानुपर्छ ।

 

 

कहिलेकाँहि मुजफ्फरपुरबाट आएको लाइनमा फल्ट भैदियो भने १२० मेगावाटमा गडबडी हुनासाथ सिस्टमले धान्दैन । अनि टोटल सिस्टम कोल्याप्स हुन्छ । हामीले त्यो सेक्सनमात्रै काट्न पायौं भने सबै जाँदैनथ्यो । तर, हाम्रो सिस्टम सिंक्रोनाइज्ड नभएकाले त्यसले धान्दैन ।

 

त्यसैले सिस्टम कोल्याप्स हुने कारणले कहिलेकाँहि ४५ मीनेट, एक घण्टाको हाराहारी समय लाग्छ । र त्यतिबेलासम्म बिजुली जान सक्छ । कहिले कुलेखानी चलाउनुपर्छ, कहिले अर्को चलाउनुपर्छ । यसो गर्दाखेरि एक घण्टा लाग्छ ।

 

अर्को, अहिले धेरै ठाउँमा कन्डक्टरहरु अपग्रेड गर्नुपर्ने अवस्था छ । र, सब-स्टेसनहरु ओभरलोड भएको हुनाले केही ठाउँको बत्ति काटेर मर्मत गर्नुपर्ने हुन्छ । केही समय त बत्ती काट्नुपर्‍यो । एउटा फिडर काट्नासाथ धेरै प्रभाव पार्छ ।

त्यसरी बत्ती काट्दाखेरि हामीले रेडियो, एफएमहरुमा सूचना त दिएका हुन्छौं, तर पब्लिकले त्यो सुन्दैनन् र लोडसेडिङ भएको हो कि भन्ने ठान्छन् । तर, यसबारे हामीले एफएमहरुमा सूचना पठाएका हुन्छौं ।

 

यी बाहेक काठमाडौंमा लाइन काटिने अरु कारणहरु के छन् ?

 

मेलम्चीको पाइपले अस्ति महाराजगञ्जमा केबुल नै काटिदियो । दिनभरि खत्तम भयो । कति ठाउँमा त्यसैगरी केबुल काटिएका छन् र दिनभरि बत्ती गएको छ । एकपटक त रातभरि पनि बत्ती आउट भयो । केबुल जोड्नुपरो, सबैथोक मिलाउनुपरो । यसले गर्दा अलिकति अन्ब्यालेन्स हुने गरेको छ । अहिले काठमाडौंमा सडक विस्तार र मेलम्चीको पाइप बिछ्याउने कामले गर्दा पोलहरु सार्नुपर्ने हुन्छ र दिनभरि लाइन काट्नुपर्ने हुन्छ ।

 

त्यस्तै, अस्ति बानेश्वरको एउटा ठूलो ट्रान्सफरमर फेर्दाखेरि ४/५ दिन लाग्यो । त्यसको लोड अरु सब-स्टेसनबाट दिँदाखेरि अन्ब्यालेन्स भयोे । त्यो लोड अन्तबाट आइसकेपछि फेरि त्यो ओभरलोड भैदियो । यसरी फिडरहरु ओभर लोड हुन्छन् ।

 

काठमाडौंको वितरण प्रणालीचाहिँ कत्तिको व्यवस्थित छ ?

 

काठमाडौंको सिस्टम ९० प्रतिशत लोडिङमा गइसक्यो । स्पेयर नै छैन । सबै सब स्टेसनहरु ओभरलोडमा छन् । कुन एरियामा कुन ठाउँमा हिटर बाल्छन् भन्ने त थाहा हुँदैन, त्यसले गर्दा कुनै एक ठाउँको पावर जुनसुकै बेला बढ्न सक्छ र त्यस्तो हुनासाथ सब-स्टेशन ओभरलोड भैदिन्छ । अनि त्यसरी ओभरलोड भैदिनासाथ अर्को ठाउँबाट दिनुपर्छ । तर, स्विचिङ मिलाउन त टाइम लाग्ने भयो नि । यो एक्स्चेञ्ज अहिले सबै ठाउँमा मिलाइसकिएको छ । र, अहिले चाहिँ ब्यालेन्स छ ।

 

विगतमा जाडोका बेलामा पिकआवरमा हिटरहरु बढी नचलाइदिनुहोला भनेर विद्युत प्राधिकरणले सूचना निकाल्ने गरेको थियो । अहिलेचाहिँ जाडोमा जतिखेरै हिटर, एसी, आदि चलाउँदा पनि फरक नपर्ने अवस्था हो ? उपभोक्तालाई तपाई के भन्नुहुन्छ ?

 

हामीले भनिराखेका छौं, सकेसम्म बिजुली किफायत त गर्नैपर्‍यो नि । अहिले बढी जाडो भएको हुनाले हिटर धेरै बल्यो । हामीले नबाल भन्न त मिलेन । तर, सकेसम्म किफायत रुपले प्रयोग गरेको राम्रो ।

 

हिटर बाल्दाखेरि पनि बेलुका ५ बजेदेखि ८ बजेसम्मको ३ घण्टा पिक आवरमा चाहिँ बालेन भने हामीलाई सजिलो हुन्छ । अरु समय बाले हुन्छ । अरु समय हामीलाई लोडिङको समस्या छैन । पिक टाइममा चाहिँ समस्या पर्न सक्छ । तर, अरु समय पनि इनर्जी सेभिङ गर्नु भनेको छ राष्ट्रलाई पनि फाइदा हुने कुरा नै हो । इनर्जी सेभिङ त गर्नैपर्‍यो नि ।

 

अब अर्को प्रशंगमा कुरा गरौं, ललितपुरमा बिजुली चोरी व्यापक भएको हो ? तपाईल ते लाइन नै काटिदिन्छु भन्नुभएको सुनियो, किन ?

 

त्यहाँ अति नै भयो । यो न्यायोचित पनि भएन । सँगै बसेको एउटा छिमेकीले बिजुलीको पैसा तिर्नुपर्ने, अर्कोले चाहिँ पैसा नतिरी चोरे हिटर पनि बाल्न पाउने, सबथोक गर्न पाउने ? यो त न्यायोचित त भएन नि । सामाजिक, आर्थिक, कुनै हिसाबले पनि न्यायोचित भएन ।

 

ललितपुरको हरिसिद्धी, च्यासल, लुभु, अनि सानोगाउँ लगायतका एरियाहरुमा बिजुली चोर्नेहरु यस्ता छन् कि त्यहाँ हाम्रो कर्मचारीलाई पनि छिर्न दिँदैनन् । मिटर रिडिङ गर्दा पनि कर्मचारीले उनीहरुले भनेको अनुसार टिप्नुपर्ने  यस्तोसम्म छ । मिटर रिडिङ गर्न जानै नदिने । चोरी समात्न जान नदिने । यो त एउटा संगठित चोरी हो ।

 

हामीलाई काम गर्न दिनोस् । त्यहाँभित्र के-के सुधार गर्नुपर्ने हो, हामी त्यो पनि गर्छौं । सबैचिज गर्छौं । ट्रान्सर्फमर थप्नुपर्ने हो भने त्यो पनि थप्छौं । केबुल राख्नुपर्ने, हटाउनुपर्ने, मिटर फेर्नुपर्ने सबै काम गर्छौं । तर, हामीलाई काम गर्न दिनुपर्‍यो । विजुली चोरी गर्नु भएन । हैन भने हामी एरिया छुट्याएर फिडरबाट सिधै लाइन काट्छौं । अरु उपाय नै छैन । कसैले चोरेर बालिरहनुपर्ने, अरुले पैसा तिरिरहनुपर्ने ? यो त न्यायसंगत भएन ।

 

कस्तो मात्रामा हँदोरहेछ त्यहाँ विद्युत चोरी ? सामान्य कि ठूलो मात्रामा ?

 

त्यहाँ २४/२५ वटा ट्रान्सफरर्मरबाट १२ मेघावाट खपत भइराखेको थियो । ५० प्रतिशत चोरी भनेको ६ मेगावाट हो । यसबाट वर्षभरिमा प्राधिकरणलाई करिब ४०/५० करोड घाटा हुन्छ ।

 

अनि यसरी संगठित चोरी गर्ने ठाउँमा हामीलाई केही गर्नै नदिने भनेपछि हामीले लाइन काट्नुको अर्को विकल्प नै हुँदैन । जागरण गर्ने, सबैलाई जानकारी गरेर लाइन काट्ने हो । जानकारी नगरेको होइन, हामीले १५ दिनको टाइम दिएका छौं ।

 

१५ दिनको अल्टिमेटम दिइसकेपछि अहिले के भैरहेको छ ?

 

यसले ठूलो काम गरेको छ । जनप्रतिनिधिहरु पनि आएर छलफलको कार्यक्रम भइरहेको छ । त्यसपछि अफिसमै आएर पनि छलफल भएको छ । सामाजिक कार्यकर्ताहरुसँग पनि छलफल भएको छ । हाम्रा कर्मचारीलाई चेकजाँच गर्न दिएका छन् । चोरी भएकोलाई समातेका छौं । अहिले केही मान्छेले बिल तिरेका छन् कसैले १ लाख तिरेका छन्, कसैले ५० हजार रुपैयाँ तिरेका छन् ।

 

यसरी हुने गरेको विद्युत चोरीको समस्या ललितपुरमा मात्रै हो कि अरुतिर पनि छ ?

 

हामीले देशैभरिका लागि भनेका हौं । हामीले गत साल विद्युत चोरी र चुहावटलाई २६ प्रतिशतबाट २३ प्रतिशतको हाराहारीमा झार्‍यौं । यसपालि २० प्रतिशतमा झार्ने भनेका छौं । डेढ वर्षमा ५ प्रतिशत झार्ने भनेको ठूलो उपलब्धि हो । यसबाट विद्युत प्राधिकरणलाई ५ अर्ब रुपैयाँ त त्यहीँबाट निस्कन्छ । हामी योभन्दा अझै ५/१० प्रतिशत झार्न सक्छौं । अहिले त्यो क्याम्पेन चलिराखेको छ ।

 

किनकि यहाँ १०/१२ अर्ब रुपैयाँ अप्राविधिक रुपबाटै घाटा भइरहेको छ । टेक्निकल कारणले हुने घाटा पनि अन्य मुलुकहरुमा १० प्रतिशत भन्दा कम हुन्छ, हाम्रोमा त्यसो गर्न गाह्रो छ । किनभने त्यसका लागि पैसा पनि चाहिन्छ, टाइम पनि चाहिन्छ । ट्रान्सफरमरहरु फेर्नुपर्छ, कन्डक्टर फेर्नुपर्छ । सबै कुरा चेञ्ज गर्नुपर्छ । तर, नन टेक्निकल घाटा भनेको त सबै चोरी नै हो । यसलाई १५ प्रतिशतमा झार्नलाई त्यति समस्या हुनुहुँदैन । ५ प्रतिशत झार्नलाई सबैले सहयोग गर्ने हो भने ५ अर्ब रुपैयाँ बच्छ । यो पैसा हामी हाइड्रोपावरमा लगानी गर्न सक्छौं । लोडसेडिङ हटाउनमा पनि यसले धेरै सपोर्ट गर्छ । त्यसैले हामीले अहिले चोरी नियन्त्रणको प्रयास गरिरहेका छौंं ।

 

तपाईले लोडसेडिङको अन्त्य गराउनुभएको छ । उसोभए हामीले अझै ढुक्क भए हुन्छ ? के अब नेपालमा सुख्खायाममा पनि लोडसेडिङ हुँदैन ?

 

अब हामीले लोडसेडिङको कुरै उठाउनुपर्ने अवस्था छैन । अर्को वर्षबाट लोडसेडिङ भन्दा पनि खपत कसरी बढाउने भन्ने विषयमा चाहिँ जानुपर्ने छ ।

 

अब नयाँ उत्पादन तामाकोशी आउँदैछ । २/३ वर्षभित्र हामी १२ सय मेगावाट थप्दैछौं । त्यसैले अब त खपत बढाउनुपर्‍यो नि । यसका लागि काठमाडौंका लाइन अपग्रेड गर्नुपर्नेछ । ठाउँठाउँमा सब-स्टेसनहरु बनाउनुपर्‍यो । धेरै कामहरु गर्नुपर्नेछ । किनभने, अब लोडसेडिङ भयो भने सप्लाइ नभएर होइन, ओभरलोड भएर वितरणमा आउने समस्याले लोडसेडिङ हुन सक्छ । यसलाई तत्काल सुधार गर्नुपर्छ । तर, यसका लागि पनि समय लाग्छ । यो सिस्टममा सुधार गर्न पनि हाइड्रोपावर बनाउनजस्तै दुई तीन वर्षसम्म लाग्न सक्छ । यसमा पनि टेन्डर गर्नुपर्ने लगायतका प्रक्रियाहरु पुर्‍याउनुपर्छ ।

अनलाइनखवर वाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top