कमरेड ! फिल्म हेरेर होइन, पश्चतापले चाहिँ आँसु झार्नुहोस् !

सिन्धुली साैगात संवाददाता २०७४ मंसिर ११ गते सोमवार काठमाडौं

 

प्रिय क. शितलकुमार (हरिबोल गजुरेल), लालसलाम !

 

देश चुनावि माहोलमा होमिएको छ । राजनैतिक दलका उम्मेदवारहरु फेरि जनतासामु खोक्रा आश्वासन लिएर भोट माग्न  हिडेका छन् । घोषणापत्रलाई रंग्याएर जनतालाई ठुल्ठुला आश देखाएर नेताहरु जनताको घरदैलोमा पुग्नु सामान्य भएको छ । कृषकहरुको खेतमै गएर उनीहरुलाई सहयोग गरेजसो गरि जनताको मन जित्न खोज्ने उम्मेदवारहरु कदापि सफल हुन सक्दैनन् । विगतमा पदमा पुग्दा जनतालाई बिर्सने उम्मेदवारहरुलाई जनताले मज्जाले चिनेका छन् । अब जनताहरु सचेत भएका छन् । राजनैतिक दलका नेताहरुले विगतमा जस्तो जनतालाई इन्द्रजालमा पार्न मुश्किल छ । जनताले सक्षम र विकासप्रेमि उम्मेदवारलाई नै भोट हाल्नेछन् र विजयी गराउने छन् । यो कुरा सबै उम्मेदवारले बुझ्न आवश्यक छ । निर्वाचन आयोगको आचरसंहितालाई लत्याउनेहरुले लेखक बुद्धिसागरले भनेझैँ, ‘जनताको मन दुःखाएर जम्मा पारेको धन प्रचारमै सकिने भो । मन जितेको भए, जनताले आफैँ प्रचार गरिदिन्थे । यत्रो वर्ष जनताको मन दुःखाएको हिसाबकिताब त हुने नै भो ।’ भन्ने वाक्यलाई स्मरण गर्न आवश्यक छ । पदमा पुग्दा अकुत सम्पत्ति आर्जन गर्नेले आज चुनावमा पैसाको खोलो बगाएका छन् । सर्वसाधरणले यस्ता सबै कुराहरुलाई निगरानि गरिरहेका छन् ।

 

सितलकुमार कमरेड, माथिका वाक्यहरुले तपाईलाई बाण हान्न खोजेको होइन । चुनाव आएको छ र तपाईपनि प्रतिस्पर्धामा हुनुहुन्छ । तपाईलाई जितको अग्रिम शुभकामना छ । सिन्धुली जिल्लाबाट प्रतिनिधित्व गर्दै तपाईले संसदमा सहभागिता जनाउनु भयो । जिल्लावासीको लागि गौरवको विषय नै भन्नुपर्छ, तपाई कृषिमन्त्री सम्म बन्नु भयो । तर, कृषिमन्त्री हुँदा जिल्लाको लागि के गर्नु भयो, त्यो भने जिल्लावासीले देख्न पाएनन् । कृषिमन्त्री हुँदा ‘राहदानी’ फिल्म हेरेर रोएको दृश्यलाई कतिले मज्जाकमा उडाए । तर, मैले त तपाईलाई देशको मायाले सताउदो रहेछ भन्ने बुझेँ । म गलत थिए झैँ लाग्न थालेको छ सितल कमरेड । मन्त्रीले गोहिको आँसु झा¥यो भन्ने प्रतिक्रिया सुन्दा म त्यस्को विरोध गर्दथे । गोहीको आँसु होइन त्यो देशको मायाले आँसु झरेको भन्ठान्थे । तर, म पनि गलत साबित भएको छु, कमरेड । खोइ त तपाईले देशको कृषि क्षेत्रको विकासमा के काम गर्न सक्नुभयो ? जिल्लावासीले भरोसा गरेर दिएको भोटको कदर गर्न किन सक्नुभएन ? आफ्नै भान्जा भनौँदालाई ७ लाखको काम दिलाउनु भयो । भान्जाले त्यो रकम एकमुष्ठ खाए, काम भएन । म जस्तो साधरण व्यक्तिले देखेको आर्थिक लेनदेन यहि हो । ७ लाख त एउटा उदाहरण मात्र थिए होला । तपाई कृषिमन्त्री हुँदा कृषि विकास मन्त्रालयले तीन ठुला राजनीतिक दलका किसान संगठनको मातहतमा संचालित सहकारीहरुलाई घुृमाउरो तरिकाले करोडौँ रकम वितरण गर्न लागेको समाचार पढ्दा मेरो मन साह्रै दुखेको थियो कमरेड । मैले विश्वास गरेर दिएको भोटको मज्जाले कदर गर्नुभएछ भन्ने लाग्यो । म जस्ता हजारौँ मतदाताले यस्तो समाचार पढ्दा चुकचुकि गर्नु सिबाए केहि रहेन ।

 

कृषि मन्त्रीका सल्लाहकार धेरै, काम थोरै भन्ने शिर्षकमा आएको समाचारहरु मिथ्या हुन् भन्ने मैले ती सबै समाचारहरु सत्यमा आधारीत रहेको थाहा पाउँदा म जस्तो मतदाताको मन किन नदुख्ला र ? दोश्रो संविधान सभाको चुनावमा केन्द्रिय स्तरको नेतालाई जिताउन ठुलो योगदान पुर्‍याएको म जस्ता कार्यकर्ताले अरु मतदाताहरुको अगाडि अब कुन मुख लिएर तपाईको नाममा भोट माग्न जाने ? जनताले तपाईका यस्ता नराम्रा कुराहरु सबै थाहा पाइसकेका छन् । थाहा पाउनुपनि पर्छ । किनभने, जिल्लावासीसँग ठुला आश्वासन बाढेर जनताको विश्वासलाई लात हान्नेलाई जनताले मज्जाले चिन्न जरुरी छ । जनताको विश्वासलाई घात पुर्‍याउने तपाई जस्ता नेताहरुलाई जनताले चिन्नुपर्छ र चिनेका पनि छन् ।

 

अहिले पनि मलाई स्मरण छ तपाई कृषिमन्त्रीहुँदा धान दिवसका दिन गमलामा धान रोपेर कार्यक्रमको शुरुवात गर्दा धेरैले आलोचना गरेका थिए । मलाई तपाईको यो प्रस्तुतिले मन छोएको थियो । एकदिन कृषकहरुसँग गएर धान रोप्दैमा केहि फरक हुनेवाला थिएन । तर, कृषकको खेतमा पुग्न नसक्नेले कृषकको हितमा काम गर्नेछ भन्ने विश्वासप्रति घात पुगेको थियो । अनि यसरी म तपाईको समर्थकबाट आलोचक बन्न पुगेँ ।

 

जनयुद्धताका तपाईको यौन काण्ड सार्वजनिक भएपश्चात् पनि तपाईलाई सिन्धुलीवासीले विश्वास गरेर विजयी गराएको ऋण तिर्न नसक्नेले अब कुन आधारमा भोट माग्नुहुन्छ ? मैले चुनावलाई लक्षित गरि यो चिठि लेखेको होइन । चुनावकाबेला यस्ता चिठि तपाईले जस्तोसुकै व्यस्तताका बाबजुद पनि पढ्नुहुनेछ भनेर लेखेको हुँ । यस्लाई अन्यथा नसोचिदिनुहोला । अन्तमा, फिल्म हेरेर आँसु झार्ने भन्दा पनि जनताको विश्वासलाई कदर गर्न नसकेकोमा पश्चतापको आँशु झार्नुहोस् भन्ने सल्लाह दिन चाहान्छु र आगामी दिनमा पनि म तपाईका कमजोरीहरुलाई औल्याइरहने छु ।

 

उही तपाईँको भलो चिताउने कार्यकर्ता, क.सुशान्त ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top